मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारीमै पुग्छन् सुपारी संकलन गर्न भारतीय तस्कर



काठमाडौं पुस, २९– प्रदेश  १ का किसानले लगाएको सुपारी पाकेसँगै भारतीय तस्करले सुपारी संकलन गर्न सुरु गरेका छन्। भारततर्फ तस्करी गर्न अहिले सुनसरी, मोरङ र झापा जिल्लाका किसानको बारीमा सुपारी तस्कर पुगिसकेका छन्। उनीहरूले दिनभर सुपारी संकलन गर्ने गरेका हुन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

काँचो सुपारी नेपाल–भारत खुल्ला सीमा नाकाबाट रातभरी तस्करले भारततर्फ लैजाने गरेका छन्। नेपालले भारतलगायतका तेस्रो मुलुकमा सुपारी निकासीमा प्रतिबन्ध लगाएको भए पनि तस्करले यि तीन जिल्लामा उत्पादन भएको सुपारी रातको समयमा भारत तिर तस्करी गर्ने गरेका छन्।

सरकारले सुपारी निकासी गर्न प्रतिबन्ध लगाएपछि भारतीय तस्करले सिजन सुरु हुनु अगावै काँचो सुपारी संकलन तीव्र बनाएका छन्। सुनसरीको धरान, इटहरी, बराहक्षेत्र, इनरुवा, रामधुनी, दुहबीलगायतका स्थानमा किसानले उत्पादन गरेको काँचो सुपारी बोटमै गएर संकलन गर्ने गरिएको छ। त्यस्तै मोरङको विराटनगर, बेलवारी, उर्लावारी, पथरी, रंगेलीलगायतका स्थानमा पनि काँचो सुपारी संकलन भइरहेको छ। झापाको दमक, बिर्तामोड, शिवसताक्षी, बेलडाँगी, काँकडभिट्टा, धुलावारी, भद्रपुरलगायतका स्थानमा पनि भारतीय तस्करले किसानका सुपारी संकलन गर्ने कार्यलाई तीव्र पारेका छन्। तस्करले काँचो सुपाडी बोक्रैसँग जोखेर प्रतिकिलो २० रुपैयाँका दरले भुक्तानी दिँदै आएका छन्। धरानका सन्दीप लिम्बूले भारतीयलाई बोक्रैसहितको सुपारी प्रतिकिलो २० रुपैयाँले बिक्री गरेको बताए।

भारतीय तस्करले संकलन गरेको सुपारी काँकडभिट्टा र जोगवनी नाका हुँदै भारततर्फ लैजाने गरेका छन्। तस्करहरूले भन्सार नाकामा कडाइ हुने भन्दै खुल्ला सीमानाबाट मध्यरातमा सुपारी भारततर्फ लैजाने गरेको सीमा क्षेत्रका बासिन्दाले बताएका छन्। धरानमा सुपारी संकलन गरिरहेका भारतीय नागरिक मोहमद जफिर मियाँले नेपालमा संकलन गरेको सुपारी सिलिगुडी लैजाने गरेको बताए। उनले भारतबाट साहुले १० जनाको समूह बनाएर सुपारी संकलन गर्न पठाएको बताएका छन्। संकलन गरेर विभिन्न ठाउँमा राखिएपछि रातको समयमा भारत कटाउने गरिएको उनले बताए।

प्रकाशित मिति : २९ पुस २०७५, आइतबार  १ : ३९ बजे