मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपराष्ट्रपति पुनले पोखरा पुगेर मापदण्डविपरीत बनेको भवन उद्घाटन गरे, महानगरपालिकाद्वारा बहिष्कार



काठमाडौं माघ, ३–मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् ।

महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् ।

साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए पनि धरधनी मीन गुरुङले १० तलाको बनाएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ पनि सहभागी थिए । भवन उद्घाटनमा सहभागी हुन मेयर मानबहादुर जिसीसहित पदाधिकारीलाई निमन्त्रणा गरिए पनि मापदण्डविपरीत बनेको संरचनामा सञ्चालित होटेल भन्दै महानगरको तर्फबाट कोही पनि उपस्थित भएनन् । घरधनी एवं होटेल सञ्चालक मीन गुरुङका अनुसार भूकम्प गएको दिन १२ वैशाख ०७२ मा घर निर्माणको जग हालिएको हो ।

महानगरले साढे तीन तलाको नक्सा पास गरेको र सोहीअनुसार निर्माण सम्पन्न प्रमाणपत्र लिएको उनले जानकारी दिए । साढे तीन तलाको सम्पन्न प्रमाणपत्र लिएपछि अरू तला थप्दै रुफटपसहित १० तलाको भवन बनाएको उनले बताए । ‘मेरो मात्र होइन, पोखराको लेकसाइडमा यसरी धेरै घर बनेका छन्,’ उनले भने । होटेल सञ्चालक गुरुङका अनुसार १८ करोडमा निर्माण गरिएको १० तले सुविधासम्पन्न होटेलमा ३२ कोठा, एक अपार्टमेन्ट र तीन सेमिनार हल छन् ।

प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार  २ : २१ बजे