काठमाडौं माघ, १४–
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल स्वाब’ को डीएनए सही भएको प्रहरीले बताएको छ । निर्मलाको ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको भन्दै प्रहरीले यस्तो बताएको हो ।
पन्तको शवबाट निकालिएको भनिएको भनाइजल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी डीएनए टेष्ट गर्न तयार भएकी थिइन् । गत पुस २५ मा उनले आफ्नो रगतको नमुना समेत दिएकी थिइन् ।
लामो समयसम्म यसको रिपोर्ट सार्वजनिक भएको थिएन । आइतबार मात्रै मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको बताएको छ ।
निर्मला हत्या प्रकरणका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले यसको पुष्टि गरे । प्रहरीले आमा दुर्गादेवीसँग डीएनए मिलिसकेपछि अब यसबारे प्रश्न उठाउनुको कुनै अर्थ नरहेको प्रहरीले बताएको छ ।