स्वास्थ्यमा सुधार भएपछि पारस शाह घर फर्किए



काठमाडौं माघ, १८–
हृदयाघात भएपछि अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज भएका छन् ।

गएको माघ १४ गते नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका शाह स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि शुक्रबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

उनी करिब ३ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
यसअघि, शाहको उपचारमा संलग्न प्राध्यापक डा. यादवदेव भट्टले पूर्वयुवराज शाह मुटुको मुख्य नसानै पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमा सफल उपचार गर्न सकिएको जानकारी दिएका थिए ।

बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न गरिएको उनको भनाई छ ।

पूर्वयुवराज शाहलाई हृदयघात हुनुको मुख्य कारण वंशाणुगत भएको भट्टले बताए ।
यसअघि पनि २ पटक हृदयघात भइसकेको हुँदा पारसको मुटु एकदमै कमजोर रहेको र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् ।

अस्पताल भर्ना भएपछि छोरा पारसको स्वास्थ्य स्थितिबारे जानकारी लिन पूर्वरानी कोमल शाह सिमराबाट काठमाडौँ आएकी थिइन् ।

अध्ययनको सिलसिलामा थाइल्याण्ड बस्दै आएकी दुई छोरी पूर्णिका र कीर्तिकाका साथमा रहेकी पारस पत्नी हिमानी भने नेपाल फर्किनन् ।

प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार  १० : ३९ बजे