मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङमा दुई मतदानस्थल थप र चारको स्थान परिवर्तन गर्न सिफारिस



आगामी सङ्घीय तथा प्रदेश निर्वाचनका लागि बझाङमा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा बसेको बैठकले छविसपाथिभेरा गाउँपालिका–५ को चन्द्रोदय माध्यमिक विद्यालय खतेडा र केदारस्युँ गाउँपालिका–४ को शिक्षोदय माध्यमिक विद्यालय बागथलामा केन्द्र थप गर्न सिफारिस गरेको हो ।

मतदानस्थल थप गर्न निवेदन आएपछि थपका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिए। यसका लागि सिफारिस गरिएको मतदानस्थलसँगै जिल्लामा एक सय ३५ मतदानस्थल हुनेछन् । मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिले जिल्लाका चार मतदानस्थल मतदातालाई पायक नपर्ने ठाउँमा रहेका र मतदानस्थल भएका विद्यालयमा बाढीपहिराले क्षति पु¥याएपछि मतदानस्थल परिवर्तन गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसमा थलारा गाउँपालिका–६ मा रहेको त्रिभुवन आधारभूत विद्यालय पिखेतमा रहेको विद्यालयमा पहिराले क्षति पु¥याएपछि वडा कार्यालयमा, थलारा–८ को शैलेश्वरी आधारभूत विद्यालय देवस्थलीमा पनि पहिराले क्षति पु¥याएपछि वडा कार्यालयमा, साइपाल गाउँपालिका–५ धुली माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा नागरिकले पायक नपर्ने ठाउँमा बनाएको भनेपछि एराङपुरी डाँडामा रहेको सामुदायिक भवनमा र खप्तडछान्ना गाउँपालिका–१ जगदम्बा आधारभूत विद्यालयमा पहिराले क्षति गरेपछि विद्यालय भवन नै अन्यत्र सारेकाले मतदानस्थल पनि विद्यालय सरेको ठाउँ वयालपाटा भन्ने ठाउँमा सारेको बताइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १२ : ४६ बजे