भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सार्ने तयारी,तीन वर्षभित्र स्थायी घर



काठमाडौँ। भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूलाई आगामी छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ। नेपाल वातावरण पत्रकार समूहद्वारा आयोजित ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितहरूका लागि तीन वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको जानकारी दिएका छन्।

बाढीका कारण रसुवा, नुवाकोट, गोरखा र धादिङका ५,११६ परिवारहरू प्रभावित बनेका छन्। उनीहरूलाई स्थायी बसोबासको व्यवस्था गर्नुअघि अस्थायी आवासमा राखिनेछ। सरकारले बाढीपीडित परिवारलाई पाँच महिनासम्म मासिक रु १५,००० राहत उपलब्ध गराउने निर्णय गरेको छ। चार जनाभन्दा बढी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यका लागि रु २,००० थप रकम दिइनेछ भने प्रभावित परिवारलाई आगामी तीन महिनाका लागि रु ४५,००० का दरले आर्थिक सहायता उपलब्ध गराउने प्रक्रियासमेत अघि बढाइएको छ।

कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक सञ्जय उप्रेतीले पुनःस्थापना गर्दा इन्जिनियरिङ पक्षसँगै सामाजिक, आर्थिक र सांस्कृतिक पक्षलाई समेत ध्यान दिनुपर्ने औँल्याए।

तर, पीडित तथा स्थानीय बासिन्दाहरूले भने अझै पनि ठूलो पीडਾ र समस्या झेलिरहेको गुनासो गरेका छन्। टिमुरेकी स्थानीय छेदिन डोल्माले बाढीपछिको मानसिक त्रासबाट आफूहरू अझै मुक्त हुन नसकेको बताइन् भने अर्का स्थानीय नामग्याल घलेले आफूहरू पूर्ण रूपमा विस्थापित भई कहाँ जाने भन्ने अन्योलमा रहेको दुखेसो पोखिन्।

त्यस्तै, टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक फूर्वु दोर्जेले बाढीमा १० जना विद्यार्थी बेपत्ता हुनुका साथै विद्यालय भवनसमेत नष्ट भएकाले पठनपाठन सञ्चालनमा अन्योल रहेको बताए। रसुवाका पत्रकार निराजन पौडेलले बाढीमा आमाबुवासहित परिवारका पाँच सदस्य गुमाएको र घटना भएको ५० दिन बितिसक्दासमेत राहत पाउन नसकेको गुनासो गरे।

प्रकाशित मिति : आश्विन २८, २०८३ बुधबार  १० : २८ बजे