काठमाडौं पुस, २६– गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले बुधबार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको ५ महिनामा मन्त्री तथा उनीहरूका स्वकीय सचिवले बुझेको दैनिक भ्रमण भत्ता सार्वजनिक गर्यो ।
त्यसमा सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले जम्मा २० हजार रुपैयाँ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले ४८ हजार ९ सय ७५ रुपैयाँ बुझेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
विवरण अनुसार उक्त अवधिमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका स्वकीय सचिव निर्मल गुरुङले ५१ हजार २ सय रुपैयाँ भत्ता बुझे । जुन रकम मन्त्रीद्वयको भन्दा बढी हो । यस अवधिमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सबैभन्दा बढी १ लाख ३७ हजार २ सय ५० दैनिक भ्रमण भत्ता बुझेका छन् ।
त्यसबाहेक पुस महिनामा मात्रै ७२ हजार रुपैयाँ भत्ता उनले बुझिसकेका छन् । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ९६ हजार ८ सय ७५, भौतिक पूर्वाधार विकास मन्त्री बस्नेतले ९६ हजार ६ सय ५०, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले ७४ हजार ३ सय ७५ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ५३ हजार ६ सय २० रुपैयाँ बुझे ।
यसैगरी आर्थिक मामिला मन्त्रीका स्वकीय सचिव रोमाकान्त पोखरेल र आन्तरिक मामिलाका खुमबहादुर विकले जनही ४७ हजार ६ सय रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका छन् । त्यस्तै मन्त्री लम्सालका स्वकीय सचिव किशोर सापकोटाले ३७ हजार ९ सय ८५, थापामगरका भरत खनालले ३० हजार ८ सय र मुख्यमन्त्रीका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले २६ हजार ४ सय रुपैयाँ बुझेको कार्यालयले जनाएको छ । सबैभन्दा कम मन्त्री नरदेवी पुनमगरका स्वकीय सचिव वेगप्रसाद गर्वुजाले जम्मा ९ हजार २ सय रुपैयाँमात्र बुझेका छन् ।
मन्त्री र स्वकीय सचिव प्रदेश राजधानी रहेको कास्की जिल्लाभन्दा बाहिर जाँदा दैनिक भ्रमण भत्ता पाउँछन । एकरात बास बस्नु परेमा मुख्यमन्त्रीले ३ हजार, अरू मन्त्रीले २५ सय र स्वकीय सचिवले १६ सय रुपैयाँ पाउँछन । बेलुकी फर्केमा त्यसको एक तिहाईमात्रै भत्ता पाउने व्यवस्था छ ।
यो भत्ता नियमानुसार र स्वाभाविक भए पनि अझै मितव्ययी बन्न बुधबारको मन्त्रीपरिषद् बैठकमा मुख्यमन्त्री गुरुङले मन्त्रीहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताए । पोखरा नजिकका जिल्लामा सकभर राती बास नबस्ने र अन्य जिल्लाबाट पनि सम्भव भएसम्म उही दिन फर्कने वातावरण मिलाउनु पर्ने उनको निर्देशन थियो । दैनिक भत्तामा जहाज भाडा र अन्य भत्तासमेत जोडिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव लालमणि ओझाले बताए ।