मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रीभन्दा स्वकीय सचिवको भत्ता बढी



काठमाडौं पुस, २६– गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले बुधबार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको ५ महिनामा मन्त्री तथा उनीहरूका स्वकीय सचिवले बुझेको दैनिक भ्रमण भत्ता सार्वजनिक गर्‍यो ।

त्यसमा सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले जम्मा २० हजार रुपैयाँ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले ४८ हजार ९ सय ७५ रुपैयाँ बुझेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

विवरण अनुसार उक्त अवधिमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका स्वकीय सचिव निर्मल गुरुङले ५१ हजार २ सय रुपैयाँ भत्ता बुझे । जुन रकम मन्त्रीद्वयको भन्दा बढी हो । यस अवधिमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सबैभन्दा बढी १ लाख ३७ हजार २ सय ५० दैनिक भ्रमण भत्ता बुझेका छन् ।

त्यसबाहेक पुस महिनामा मात्रै ७२ हजार रुपैयाँ भत्ता उनले बुझिसकेका छन् । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ९६ हजार ८ सय ७५, भौतिक पूर्वाधार विकास मन्त्री बस्नेतले ९६ हजार ६ सय ५०, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले ७४ हजार ३ सय ७५ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ५३ हजार ६ सय २० रुपैयाँ बुझे ।

यसैगरी आर्थिक मामिला मन्त्रीका स्वकीय सचिव रोमाकान्त पोखरेल र आन्तरिक मामिलाका खुमबहादुर विकले जनही ४७ हजार ६ सय रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका छन् । त्यस्तै मन्त्री लम्सालका स्वकीय सचिव किशोर सापकोटाले ३७ हजार ९ सय ८५, थापामगरका भरत खनालले ३० हजार ८ सय र मुख्यमन्त्रीका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले २६ हजार ४ सय रुपैयाँ बुझेको कार्यालयले जनाएको छ । सबैभन्दा कम मन्त्री नरदेवी पुनमगरका स्वकीय सचिव वेगप्रसाद गर्वुजाले जम्मा ९ हजार २ सय रुपैयाँमात्र बुझेका छन् ।

मन्त्री र स्वकीय सचिव प्रदेश राजधानी रहेको कास्की जिल्लाभन्दा बाहिर जाँदा दैनिक भ्रमण भत्ता पाउँछन । एकरात बास बस्नु परेमा मुख्यमन्त्रीले ३ हजार, अरू मन्त्रीले २५ सय र स्वकीय सचिवले १६ सय रुपैयाँ पाउँछन । बेलुकी फर्केमा त्यसको एक तिहाईमात्रै भत्ता पाउने व्यवस्था छ ।

यो भत्ता नियमानुसार र स्वाभाविक भए पनि अझै मितव्ययी बन्न बुधबारको मन्त्रीपरिषद् बैठकमा मुख्यमन्त्री गुरुङले मन्त्रीहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताए । पोखरा नजिकका जिल्लामा सकभर राती बास नबस्ने र अन्य जिल्लाबाट पनि सम्भव भएसम्म उही दिन फर्कने वातावरण मिलाउनु पर्ने उनको निर्देशन थियो । दैनिक भत्तामा जहाज भाडा र अन्य भत्तासमेत जोडिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव लालमणि ओझाले बताए ।

प्रकाशित मिति : २६ पुस २०७५, बिहिबार  १ : ५० बजे