सहायक रथी ढकालले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी



काठमाडौं पुस, २६–
नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी याम प्रसाद ढकालले सम्हालेका छन् ।

बिहीबार निर्देशनालयमा आयोजित कार्यक्रममा सहायकरथी गोकुल भण्डारीले ढकाललाई कार्यभार हस्तान्तरण गरेको निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले सहायक रथी ढकालको कार्यकालमा नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुनुको साथै आमसञ्चार जगतको सहयोग यथावत रहिरहने विश्वास लिएको जनाएको छ ।

सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सहायक रथी भण्डारीले आमसञ्चार जगतका सबै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा बिशेषगरी रक्षासँग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि आभार प्रकट गरेका छन् ।

सूचना अधिकारी तथा सैनिक प्रवक्ताको कार्यकाल सफलतापूर्वक सुसम्पन गरी आफ्नो कार्यभार नवनियुक्त सैनिक प्रवक्तालाई हस्तान्तरण पश्चात भण्डारी आजै नेपाली सेनाको अत्यन्त महत्वपूर्ण तालिम शिक्षालय सैनिक प्रतिष्ठान खरिपाटीमा शिक्षाधिकृतको रुपमा जानेछन् ।

प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार  ६ : ४४ बजे