अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका सांसदले थाले महाभियोगको प्रक्रिया



काठमाडौं । अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले अमेरिकी संविधानको उल्लङ्घन गरेको आरोप लगाएका छन्।

सोमवार दिउँसो तल्लो सदनमा मासीले औपचारिक रूपमा महाभियोगसम्बन्धी प्रस्ताव पेस गरेका छन्। यस कदमसँगै सदनमा उक्त प्रस्तावमाथि कारबाही अघि बढाउन ४८ घण्टाको समय सीमा सुरु भएको छ।सांसदहरूले यस प्रस्तावमाथि सिधै मतदान गर्न, यसलाई समितिमा पठाउने निर्णय गर्न वा यसलाई खारेज गर्न सक्छन्।

सत्तारुढ दलका सांसद थोमस मासीले भने,’ूसंसद्को अनुमतिबिना इरानमा ९० दिनभन्दा बढी समयसम्म शत्रुतापूर्ण गतिविधिमा संलग्न भएर रक्षामन्त्री हेग्सेथले कानुन तोडेका छन्। त्यसैले उनलाई जबाफदेही बनाइनुपर्छ।’ू

ज्यानुअरीसम्म संसदमा रिपब्लिकनहरूकै नियन्त्रण रहने भएकाले उक्त प्रयास असफल हुने सम्भावना छ।

तर मासीका अनुसार यस प्रयासको उद्देश्य राष्ट्रपति डोनल्ड ट्रम्पलाई दबाव दिनु रहेको छ।त्यसको उद्देश्य डेमोक्र्याटहरूले आफ्नै तर्फबाट महाभियोग प्रक्रिया सुरु गर्नु अगावै ट्रम्पले हेग्सेथलाई पदबाट हटाऊन् भन्ने रहेको उनको भनाइ छ।

हेग्सेथले यस महाभियोग प्रयासलाई ढोँग भन्दै खारेज गरेका छन् र आफ्नो कामको बचाउ गरेका छन्। गत हप्ता जारी एक भिडियो सन्देशमा उनले भनेका थिए, ूउनीहरू ममाथि आक्रमण गरिरहेका छन्। उनीहरू हामीमाथि आक्रमण गर्दैछन् किनभने हामी प्रभावकारी छौँ। यो प्रयास सफल हुने छैन। हामी पछि हट्ने छैनौँ।ू

उनले मासीलाई असन्तुष्ट र पराजित सांसदू को संज्ञा दिए र आफूलाई यस महाभियोग प्रयासको कुनै चिन्ता नभएको बताए।जारी भिडियोमा हेग्सेथले मन्त्रालयमा आफ्नो नेतृत्वको बचाउ गरे र ट्रम्पको अमेरिका पहिलोु भन्ने मुद्दालाई आफूले कसरी कार्यान्वयन गरेको छु भन्ने कुराहरू उल्लेख गरे।

प्रकाशित मिति : कार्तिक २४, २०८३ मंगलबार  १२ : ३० बजे